१००५१० - फौजदारी

Registration Number
०६८-CR-००६७
Decision Date
2073-08-07
Registration Date
2068-04-22
Bench
अनिल कुमार सिन्हा, चोलेन्द्र शम्शेर ज. ब. रा.
Plaintiff
शिव मादेन
Defendant
गंगामाया मादेन

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्रशम्शेर ज.ब.रा. माननीय न्यायाधीश श्री अनिल कुमार सिंन्हा फैसला ०६८-CR-००६७ मुद्दाः-जालसाज। शुरू तहमा फैसला गर्ने:- माननीय जिल्ला न्यायाधीश श्री मेघनाथ भट्टराई ताप्लेजुङ्ग जिल्ला अदालत फैसला मिति:-2066/02/25 पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधिश श्री विष्णुदेव पौडेल माननीय न्यायाधिशश्री मोहनबहादुर कार्की पुनरावेदन अदालत, इलाम फैसला मिति:-206७/06/10 न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)बमोजिम यस अदालतको क्षेत्राधिकार अन्तर्गतको भै दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः- सगोलको मेरो मसेत हक लाग्ने प्रतिवादी शिव मादेनको नाउँमा रहेको फुङलिङ्ग ४ को कि.नं.1710क्षेत्रफल 0-12-0-3को जग्गा प्रतिवादी शिव मादेनलेमिति 2062/10/10 मा रू.2,00,000/- कायम गरी प्रतिवादी केशीमाया मुखियालाई राजिनामा गरी दिएको जालसाज पूर्ण कार्य निष्क्रिय गरी प्रतिवादीहरूलाई किर्ते कागजको १० नं. बमोजिम सजाय गरी पाउँ भन्‍ने समेत व्यहोराको फिरादपत्र। वादीले आफ्नो कान्छो ज्वाँईलाई विदेश पठाउन रकम माग गरी सो रकम दिए वापत प्रतिवादी शिव मादेनको उक्त जग्गा राजिनामा गरी लिनुदिनु गरेको हो भन्‍ने समेत व्यहोराको प्रतिउत्तरपत्र। आमा गंगामायाको मन्जुरी वेगर जालसाज नै गरी केशीमायालाई दिएको हुनाले उक्त मितिको लिखत जालसाज हो भन्ने बेहोराको मिति २०६४।१०।२२ गतेको वादीको साक्षी रत्‍नकुमारी लिम्बुको वकपत्र। कान्छो ज्वाईलाई विदेश पठाउन केशीमायाबाट रू.2,00,000/- लिएको र सो रूपैँया लिए वापत आमा छोराको सल्लाह अनुसार जग्गा राजिनामा लिखतमा आमा गंगामायाको सहि छाप मात्र नभएको हो जालसाजबाट भएको होइन वृद्ध भएर मालपोत सम्म जान नसकेको मात्र हुँदा निज आमा गंगामायाको मञ्‍जुरले छोरा शिव मादेनमात्र गएर उक्त राजीनामा पास गरेको हुने भन्‍ने प्रतिवादीको साक्षी अमिर मादेनको वकपत्र। वादी गंगामाया र प्रतिवादी शिव मादेन एकासगोलकै आमा छोरा भएको र जसको नाउँमा रहेका सम्पत्ति सबै अंशियारहरुको कानून बमोजिम भाग वण्डा लाग्ने कुरामा विवाद नभएबाट प्रतिवादी शिव मादेनले वादीका कान्छा ज्वाईलाई विदेश पठाउन रूपैँयाको आवश्यकता परी प्रतिवादी केसिमाया मुखियासँग रूपैँया लिई वादी आमा गंगामाया मादेनले तेरा नामको जग्गा पास गरी दे भने बमोजिम प्रतिवादी शिव मादेनले जग्गा प्रतिवादी केसिमायाको नाममा पास गरी वादी गंगामायाले नै रूपैँया समेत बुझेकी हुन् भनी प्रतिवाद समेत गरेको देखिँदा वादी गंगामाया मादेनको मत सल्लाह र मन्जुर वेगर प्रतिवादी शिव मादेनले जिल्ला ताप्लेजुङ्ग फुङलिङ्ग ४ को कि.नं. 1710 को क्षेत्रफल 0-12-0-3 जग्गा बिक्री गरेका होलान भनी मान्‍न नसकिने एवं यो वादीले प्रतिवादीहरू शिव मादेन र केसिमाया मुखियालाई कुन र.नं. बाट बिक्री गरेको हो फिरादपत्रमा उल्लेख नगरेको साथै कुन र.नं. को लिखतलाई जालसाज घोषित गर्ने भन्‍ने न्यायोचित नहुँदा फिराद दाबी बमोजिम जालसाज घोषित गरी पाउँ भन्‍ने फिराद दाबी पुग्न सक्दैन भन्‍ने समेत व्यहोराको शुरू ताप्लेजुङ्ग जिल्ला अदालतबाट मिति 2066/2/25 मा भएको फैसला। यसै मुद्दाको लगाउमा रहेको दे.नं. 21/274 को गंगामाया मादेन वादी र प्रतिवादी मध्येका शिव मादेन प्रतिवादी भएको अंश दिलाई चलन चलाई पाउँ मुद्दामा सम्पूर्ण सम्पत्ति २ भागको १ भाग अंश पाउने ठहरी फैसला भएको पाइएको र यसरी अंशियार कायम भएपछि मानो छुट्टिएको मिति फिराद परेको अघिल्लो दिनभन्दा अगाडी भएको कार्य अंशियारको मंजुरी बिना हक हस्तान्तरण भएको सम्पूर्ण काम बदर हुनु पर्नेमा गंगामाया मादेन ७ वर्ष अघिदेखि प्रतिवादी छोरा शिव मादेनले पालनपोषण नगरेकोबाट कान्छी छोरीसँग बस्दै आएको र प्रतिवादीसँग बोलचाल समेत नभएको अवस्थामा गंगामाया मादेनलाई थाहै नदिई आफ्नो फाइदाको लागि अंशियारको मंजुरी बिना कानून छली जग्गा लिनुदिनु गरेका हुन् भन्‍ने कुरा प्रष्ट हुँदा विपक्षीले विदेश पठाउने खर्च लिएको भनी वादी दाबी लिनु न्यायसंगत नभएको, स्वयंम प्रतिवादी केशिमायालाई गंगामाया मादेनले भेटघाट बोलचाल नभएको अवस्थामा कान्छा ज्वाइलाई विदेश पठाउनलाई कहिले रूपैँया मागेको हो सो कुरा समेत प्रतिवादी मध्येका केशिमायाले उल्लेख नगरेको एवं कि.नं. उल्लेख गरी क्षेत्रफल उल्लेख गरी लिखत समेत अदालतमा सनाखत गरी पेश गरेको अवस्थामा र.नं. उल्लेख भएन भनी अशियार कायम भै सकेपछि कुनै पनि अंशियारलाई थाहै नदिई अंशमा ठग्ने नियतले गरेको कार्य जालसाज घोषित गरी जिकिर बमोजिम गरी पाउँ भन्‍ने समेत व्यहोराको पुनरावेदक वादी गंगामाया मादेनको मिति २०६६।७।२४ को पुनरावेदन अदालत इलाममा गरेको पुनरावेदनपत्र। यसमा प्रत्यर्थी प्रतिवादीले दाबीको जग्गाको लिखत गरी दिँदा पुनरावेदिका वादीको हकमा समेत असर पर्ने गरी निजको मंजुरी लिएको नदेखिएको अवस्थामा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त (ने.का.प. 2064 पृ.1609) समेतको परिप्रेक्ष्यमा शुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफल निमित्त अ.बं. 202 नं. र पुनरावेदन अदालत नियमावली, 2048 को नियम 47 बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधी नाघेपछि नियमानुसार पेश गर्नु भन्‍ने समेत व्यहोराको पुनरावेदन अदालत इलामबाट मिति 2067/2/12 मा भएको आदेश।